पहिलो मुर्ति कुन हो ? - हरिप्रसाद सोडारी

पहिलो मुर्ति कुन हो ? - हरिप्रसाद सोडारी

 

अमूर्तलाई चिन्न, जान्न, बुझ्न र स्मरण गर्न सजिलो होस् भनी बनाएका आकार नै मूर्ति हुन् । मूर्तिले अदृश्यलाई देखाउँछ, अज्ञातलाई बुझाउँछ, अगम्यलाई बोध गराउँछ । याद गर्न सजिलो होस्, कीर्ति रहोस्, मुक्ति होस्, सुखशान्ति मिलोस् भनी विभिन्न लक्ष्यले मूर्ति स्थापना गरिन्छ । देवीदेवता, युगपुरुष, महापुरुषहरूको मूर्ति बनाइन्छ ।

पितापुर्खा, वीर, शहिद वा विशिष्टजनको शालिक बनाइन्छ । मन्त्र, तन्त्र वा भावपूर्ण पुकारअनुसार मूर्तिले शक्ति, ऊर्जा, आशीर्वाद हस्तान्तरण गर्छ । शालिकले अग्रजको याद दिलाउँछ, स्वरुपलाई जीवन्त राख्छ । परमात्मा वा अदृश्य देवीदेवतालाई बुझाउन मूर्तिको विम्बले सहयोग गर्दछ । अनुष्ठान र चिन्तन गर्नेलाई मूर्तिको ऊर्जाले प्रेरणा, साथ, मार्गदर्शन दिन्छ ।

ईश्वरलाई चिनाउने, ब्रम्हाण्डलाई बुझाउने, उत्पत्ति र विनाशलाई बताउने विश्वकै पहिलो मूर्तिलाई शिवलिङ्ग भनिन्छ । ईश्वरलाई बुझाउने शब्द ‘ॐ’ हो, ईश्वरलाई देखाउने पहिलो मूर्ति (तस्बिर) ‘शिवलिङ्ग’ हो । ढुड्डाले राम्रो आवाज दिने, ढुड्डाहरू बोलिरहेका, ढुड्डाले यज्ञको हविलाई देवताभन्दा पहिले प्राप्त गर्ने चर्चा वेदमा छ । यी विशेषता, शक्ति र कार्य गर्ने गुण भएकाले मूर्ति बन्ने पहिलो सौभाग्य ढुड्डालाई मिल्यो । दु:ख, खराब विचारलाई हटाएर यहाँ चढाइएका दूधलाई औषधि बनाइदिने हुँदा ढुड्डाबाट शिवलिड्ड, मूर्ति र शालिकहरु निर्माण गरियो ।

लिंगानि कल्पयित्वैवं स्वाधिकारानुरूपत: ।

विश्वकर्मा ददौ तेषां नियोगाद् ब्रम्हण: प्रभो: ।। – लिंग पुराण, (पूर्वभाग ७४।१)

अर्थात् “ब्रम्हाजीको आज्ञाअनुरूप विश्वकर्माले आफ्नो अधिकारक्षेत्रभित्र रहेर शिवलिड्डको निर्माण गरे ।” विश्वकर्मा प्राचीन कालका इञ्जिनीयर हुन् । उनले विभिन्न देवता एवं राजामहाराजाहरूका भव्य र विशाल राजभवन, सभाभवन, महलहरू बनाए । प्रविधिका पितामह भएकाले उद्योग, कलकारखाना आदिमा उनको तस्बिर वा मूर्तिमा पूजा गरिन्छ ।

चम्किलो, बलियो र भाव जगाउनेमा मूर्ति बनाउन थालियो । सबैभन्दा पहिले चारपाटा जलहरी भएको शिवलिङ्गलाई ब्रéाले पूजा गरे, जसलाई ब्रम्हशिवलिङ्ग भनियो । पहिलो मूर्तिपूजक ब्रम्हा र पूजिएको मूर्ति शिवलिड्ड हो । यसपछि महादेव, विष्णु, दुर्गा आदि देवीदेवताले शिवलिङ्गको पूजा गर्न थाले, उनीहरुको मूर्ति बनाएर ऋषि तथा सिद्धहरुले अनुष्ठान गर्न लागे । देवीदेवताहरूजस्तै ऋषि, सिद्ध र साधकहरुले विभिन्न पदार्थबाट बनेका अनेक स्वरूपका शिवलिड्डहरूमा पूजन गरे ।

शिवलिङ्गपछि निर्माण भएको ऐतिहासिक र प्राचीन मूर्तिको नाम अर्धनारीश्वर हो । मानव आकारमा बनेको पहिलो मूर्ति पनि अर्धनारीश्वर हो । योभन्दा पहिले प्राकृतिक रुपमा प्राप्त पदार्थमा पूजा गरिन्थ्यो । सृष्टिको प्रारम्भ प्रकृति र पुरुषको संयोगबाट भएको बुझाउन शिवलिङ्ग निर्माण गरियो । जलहरीले प्रकृतिलाई बुझाउँछ, लिङ्गले पुरुषलाई बताउँछ । यसलाई सरलरुपमा बुझाउन मानव आकारमा अर्धनारीश्वरको मूर्ति बनाइयो ।

अर्धनारीश्वरको मूर्तिमा महिला र पुरुषको मुखाकृति राखेर देवीदेवताको मूर्ति बनाउने बाटो खुलाइयो । सृष्टिको वर्णन, जीव विकासको व्याख्यान, प्रकृति र पुरुषको संयोजन बताउन अर्धनारीश्वरको मूर्तिमा आधा भागमा महिला र पुरुषको स्वरूप बनाइयो । अर्धनारीश्वर भन्नुपर्नेमा उच्चारण बिग्रिएर अर्धनारेश्वर भन्न थालियो । अर्धनारीश्वर मूर्तिले मौन रुपमा ब्रह्माण्डका रहस्य, मूर्ति र मानवको अन्तरसम्बन्धलाई संकेत गर्छ । सत्ता, सम्पत्ति, संस्कार र सन्तान चाहनेले तान्त्रिक विधिबाट अर्धनारीश्वरको पूजापाठ गर्छन् ।

उमामहेश्वरलाई कतिपयले अर्धनारीश्वर मान्दछन् । अर्धनारीश्वरमा पुरुष र महिलाको आधाआधा आकृति हुन्छ । अर्धनारीश्वरको मूर्तिमा महादेव र पार्वती, विष्णु र लक्ष्मी, इन्द्र र शची आदिमध्ये कसको स्वरुप हो एकीन गर्न सकिन्न । शिवलिड्डलाई व्याख्यान गर्न, सृष्टि र स्रष्टाको रहस्य बुझाउन, जगत् र जगदीश्वरलाई जान्न अर्धनारीश्वरको मूर्तिले सहयोग गर्छ । अर्धनारीश्वरको मूर्तिमा पुरुषले गलामा नाग, निकटमा नन्दी, कम्मरमा बाघको छाला लगाएको हुँदैन । अर्धनारीश्वरपछि उमामहेश्वरको मूर्ति बन्न पुग्यो ।

उमामहेश्वरको मूर्तिमा महादेवले आसन कसेर पार्वतीलाई काखमा लिई काँध, स्तन वा कम्मरमा हात राखेको देखिन्छ । तन्त्र र योग, महादेव र पार्वती, लय र मुक्तिलाई बुझाउन उमामहेश्वरको मूर्ति बनाइयो । मानिसले धनसम्पत्ति, सन्तान, इज्जत अनेक कमाउँछन्, आफन्त र परिवार बनाउँछन्, एक दिन नाटकझैँ छोडेर विलीन हुन्छन् । ईश्वरको सृष्टि सकिन लामो समय लाग्छ तर प्राणीको सृष्टि लगभग सय वर्षको हाराहारीमा सर्वनाश हुन्छ ।

- साभार


 

टिप्पणी र छलफल

प्रत्येक हिन्दूलाई वेद र पुराणको ज्ञान हुनुपर्छ

ब्लग पोस्ट

पहिलो मुर्ति कुन हो ? - हरिप्रसाद सोडारी
05 Dec 2023
पहिलो मुर्ति कुन हो ? - हरिप्रसाद सोडारी

अमूर्तलाई चिन्न, जान्न, बुझ्न र स्मरण गर्न सजिलो होस् भनी बनाएका आकार नै मूर्ति हुन् । मूर्तिले अदृश्यलाई देखाउँछ, अज्ञातलाई बुझाउँछ, अगम्यलाई बोध गराउँछ । याद गर्न सजिलो होस्…

  थप पढ्नुहोस्
शिवलिंग र महादेवमा के फरक छ ? - हरिप्रसाद सोडारी
05 Dec 2023
शिवलिंग र महादेवमा के फरक छ ? - हरिप्रसाद सोडारी

शिव, महादेव, रुद्र, नीलकण्ठलाई एकै तत्व र स्वरूपमा बुझेको पाइन्छ। लामो समयदेखिको भ्रमपूर्ण व्याख्या, गलत अभ्यास र अपूर्ण शिक्षाले यस्तो हुन पुग्यो। … विष्णु शेषनागमाथि क्षीरसागरमा…

  थप पढ्नुहोस्
पुराणको महत्व
05 Dec 2023
पुराणको महत्व

प्रत्येक व्यक्तिलाई विचार, मत, धार्मिक स्वतन्त्रताको अधिकार छ। धर्म वा मत बदल्ने स्वतन्त्रता र सार्वजनिक तथा व्यक्तिगत रूपमा एकलै वा समूहमा आफ्नो धर्म वा मतलाई शिक्षा आचरण…

  थप पढ्नुहोस्